वीरगंज महानगरपालिका वडा नम्बर २५, सिर्सिया खल्वाटोलामा वडा कार्यालयको आयोजनामा गर्भवती महिलाहरूका लागि लक्षित पौष्टिक तथा स्वास्थ्य–सुरक्षा सम्बन्धी निःशुल्क प्याड सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वडा अध्यक्ष आशुतोष चतुर्वेदीको प्रमुख आतिथ्यमा करिब ३५ जना गर्भवती महिलाहरूलाई स्वास्थ्यवर्द्धक सामग्री वितरण गरिएको छ । कार्यालयका अनुसार गर्भवती महिलालाइ चाहिने हरलिक्स, अण्डा, शुद्ध घ्यू, गेडागुडी, लगायतको पोषणयुक्त खाद्यवस्तुहरू तथा साफसफाइका लागि आवश्यक सेनेटरी प्याड सहितका सामाग्री वितरण गरिएकाे हाे ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष चतुर्वेदीले महिलाहरूको स्वास्थ्य र सशक्तिकरण हाम्रो वडाकाे पहिलाे प्राथमिकता रहेकाे बताए । उनले गर्भवती महिलाहरूले पोषणको ख्याल राख्नु मातृ–शिशु स्वास्थ्यको मूल आधार हो त्यसैले यस्ता कार्यक्रम आगामी दिनहरूमा निरन्तर रूपमा सञ्चालन गरिने हाम्राे उदेश्य रहेकाे बताएका थिए ।
यसका साथै, डेढसयभन्दा बढी महिलालाई सेनेटरी प्याड वितरण गरिएको वडा सचिव हरेराम चौधरीले जानकारी दिएका छन् । उनका अनुसार, यो कार्यक्रम मातृस्वास्थ्यको संवर्धन तथा महिलाको व्यक्तिगत स्वच्छतामा जोड दिने उद्देश्यका साथ सञ्चालन गरिएको हो । महिला र मातृस्वास्थ्यलाई प्राथमिकतामा राख्दै सञ्चालित यस्ता कार्यक्रमहरूले जनस्तरमा स्वास्थ्यप्रतिको चेतना वृद्धि गर्नुका साथै महिला अधिकारको प्रत्याभूति गर्ने वडा सचिव चाैधरीले बताए ।
कार्यक्रममा महिला नसस फुलनिया देवी र तेतरी देवीले उपस्थित महिलाहरूलाई सेनेटरी प्याड हस्तान्तरण गरेका थिए । कार्यक्रममा सिर्सिया स्वास्थ्य चौकीका कर्मचारी, स्थानीय समुदायका प्रतिनिधिहरू र अभिभावकहरूको पनि उपस्थिति रहेको थियो ।