लालबन्दीको उष्ण प्रदेशीय बागवानी केन्द्रले ५३ लाख ७१ हजारमा आँप बिक्रीको ठेक्का लगाएकाे छ ।
सर्लाहीको लालबन्दीस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रले यस वर्षको आँप उत्पादन ५३ लाख ७१ हजार रुपैयाँमा बिक्री गर्न ठेक्का लगाएको हाे । यहि जेठ १ गते दोस्रो पटक सार्वजनिक बोलपत्रमार्फत बिक्रीका लागि आह्वान गरिएको ठेक्का सुरज निर्माण सेवा, लालबन्दी–१ पुनर्वासले पाएको केन्द्रका निमित्त प्रमुख तथा वरिष्ठ बागवानी विकास अधिकृत रामकुमार यादवले जानकारी दिएका छन् ।
उनका अनुसार चालू वर्ष सिजन भएको र फलफूल उत्पादन सन्तोषजनक भएका कारण ठेक्का रकम गत वर्षको तुलनामा दोब्बर मूल्यमा परेको हो । “गत वर्ष अफसिजन परेकाले आँप निकै कम मात्रामा फलेको थियो, त्यसैले ठेक्का २१ लाख १५ हजार रुपैयाँमा मात्र लगाइएको थियो,” उनले स्मरण गरे ।
हावाहुरीका कारण मूल्य समायोजन
बागवानी केन्द्रले यसवर्ष वैशाख १६ गते पहिलोपटक आँप बिक्रीको ठेक्का मूल्य ७१ लाख ११ हजार १ सय २१ रुपैयाँ तोकेर बोलपत्र आह्वान गरेको थियो । तर, तोकिएको १५ दिनको अवधिमा कुनै प्रस्ताव नआएपछि केन्द्रले दोस्रो पटक जेठ १ गते ५१ लाख ७५ हजारको आधार मूल्यसहित सात दिने पुनः सूचना प्रकाशित गरेको थियो ।
त्यस अवधिमा केही दिनअघि आएको हावाहुरीले आँपमा क्षति गरेपनी ५३ लाख ७१ हजारमा ठेक्का साकार गरेका सुरज निर्माण सेवा लालबन्दीलाइ दिनुपरेको निमित्त प्रमुख यादवले बताए ।
एक सय बिघा क्षेत्रफलमा ६ हजार आँपका रुख
देशकै सबैभन्दा ठूलो सरकारी बगैंचाका रूपमा परिचित यस बागवानी केन्द्रमा करिब एक सय बिघा जमिनमा छ हजारभन्दा बढी आँपका रुख छन् । तीमध्ये वर्सेनि करिब ३५ सय रुखमा मात्र फल लाग्ने गरेको छ ।
मालदह, दशहरी, बम्बै, आम्रपाली, मल्लिका, निलम लगायतका ३५ बढी जातका आँप उत्पादन हुने यस केन्द्रमा व्यावसायिक उत्पादनसँगै अनुसन्धानात्मक बागवानी कार्यक्रम पनि सञ्चालन हुने गरेका छन् ।
केन्द्रले आर्थिक वर्ष २०७९/८० मा अहिलेसम्मकै सबैभन्दा बढी एक करोड ११ लाख रुपैयाँ बराबरको आँप बिक्री गरेको थियो । यसबाट केन्द्रको आम्दानी वृद्धि हुनुका साथै स्थानीयस्तरमा रोजगारी र आर्थिक गतिविधिमा टेवा पुगिरहेको छ ।
कृषि तथा वन मन्त्रालय मातहत सञ्चालित यस केन्द्रले प्रदेश तथा संघीय सरकारसँग सहकार्य गर्दै बोटबिरुवा उत्पादन, कृषक प्रशिक्षण, फलफूल गुणस्तर सुधार तथा संरक्षणमा पनि काम गर्दै आएको छ ।