जनकपुरधाम र भारतको अयोध्याधामबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवा आगामी सोमबारदेखि नियमित सञ्चालन गर्ने तयारी गरिएको छ ।
नेपाल रेल्वे कम्पनीले अर्को सातादेखि नियमित सेवा सुरु गर्ने जनाएको हो । नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार नियमित रेल सेवा सुरु भएपछि अयोध्याबाट जनकपुरधाम आउने तथा जनकपुरधामबाट अयोध्या जाने तीर्थयात्री र सर्वसाधारणलाई रेलमार्गबाट यात्रा गर्न सहज हुनेछ । यसले जनकपुरधामलाई भारतको धार्मिक पर्यटन सञ्जालसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र साह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए ।
उद्घाटनपछि सोमबार अयोध्याधामबाट प्रस्थान गरेको रेल विभिन्न स्टेसन हुँदै मंगलबार बिहान जनकपुरधाम आइपुगेको थियो । करिब ६०४ किलोमिटर लामो यात्राका क्रममा रेल भारतको उत्तर प्रदेश र बिहारका विभिन्न सहर हुँदै नेपाल प्रवेश गरेको थियो ।
मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका स्टेसन हुँदै रेल जनकपुरधाम आइपुगेको हो । १७ वटा डिब्बा रहेको रेलमा स्लिपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा उपलब्ध छन् ।
अयोध्या–जनकपुरधाम रेल सेवा सञ्चालनले दुवै धार्मिक नगरीबीचको सम्बन्ध थप प्रगाढ बनाउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनको सम्भावना बढाएको छ । तर, रेल सेवाबाट स्थानीय अर्थतन्त्रले कति लाभ लिन सक्छ भन्ने विषय भने चुनौतीपूर्ण रहेको सरोकारवालाको भनाइ छ ।
जनकपुरधाम–४ का स्थानीय व्यवसायी पुरुषोत्तम साहले अयोध्याबाट आउने पर्यटकलाई जानकी मन्दिरको दर्शन गराएर केही घण्टामै फर्काउनेभन्दा जनकपुरधाम र आसपासका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गराउने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनका अनुसार तीर्थयात्रीको बसाइ अवधि बढाउन सके स्थानीय होटल, रेस्टुरेन्ट, यातायात, हस्तकला तथा अन्य व्यवसायले प्रत्यक्ष लाभ लिन सक्छन् । त्यसका लागि धार्मिक तथा पर्यटकीय स्थलको प्रभावकारी प्रचारप्रसार, पर्यटकीय पूर्वाधार विकास र व्यवस्थित भ्रमण प्याकेज निर्माणमा सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ ।
रेल सेवा नियमित सञ्चालनसँगै जनकपुरधाममा धार्मिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ । तर, त्यसलाई स्थानीय रोजगारी, व्यापार र आर्थिक गतिविधिसँग जोड्न सके मात्र सरयू–कमला एक्सप्रेसको वास्तविक लाभ स्थानीय समुदायले प्राप्त गर्न सक्ने देखिन्छ ।