सप्तरीको रुपनी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान करिब १ बजे हात्तीको आक्रमणमा परी रुपनी गाउँपालिका–६, वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि श्रेष्ठ घरनजिकै आगो बालेर बसिरहेका थिए। सोही क्रममा हात्तीले उनलाई आक्रमण गरेको थियो। घटनामा उनका छोरा अर्जुन भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।
प्रहरीका अनुसार एक सातादेखि हात्तीको ठूलो बथान रुपनी गाउँपालिकामा प्रवेश गरेपछि स्थानीयवासी त्रसित बनेका छन्। बस्तीमै हात्ती पस्न थालेपछि स्थानीयले ज्यान जोगाउन रातभर सतर्कता अपनाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
यसअघि गत कात्तिक २९ गते पनि सप्तरीकै सुरुङ्गा नगरपालिका–४ मा हात्तीको आक्रमणबाट ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको थियो ।
पछिल्लो समय सप्तरीका विभिन्न क्षेत्रमा जंगली हात्तीको आवतजावत र आक्रमणका घटना बढ्दै जाँदा स्थानीयवासीको जनधनको सुरक्षामाथि चुनौती थपिएको छ ।