आज गणतन्त्र दिवसको अवसरमा नेकपा एमाले र राजावादी पक्षका समूहहरुले राजधानीको रत्नपार्क क्षेत्रमा फरक–फरक समयमा प्रदर्शन गर्ने भएका छन् ।
गणतन्त्रको समर्थनमा नेकपा एमालेले, भने गणतन्त्रको विरोधमा राजसंस्थाको पुनःस्थापनाको माग गर्दै राप्रपासहितका राजावादी समूहहरुले प्रदर्शन गर्न लागेका हुन् ।
राजावादी अभियानले जेठ १५ लाई ‘राजसंस्थाको पुनःस्थापनाका लागि विशेष दिन’ का रूपमा घोषणा गर्दै यस दिन प्रदर्शन गर्ने तयारी यसअघिदेखि नै गर्दै आएको थियो ।
यता, राजावादी गतिविधि तीव्र भएपछि सत्तारुढ नेकपा एमालेले पनि गणतन्त्रको पक्षमा वृहत कार्यक्रम गर्ने घोषणा गरेको थियो ।
दुबै पक्षले कार्यक्रमका लागि रत्नपार्क क्षेत्र नै रोजेपछि सम्भावित झडप र अव्यवस्थालाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समिति काठमाडौंले समय विभाजन गरेर कार्यक्रम गर्न अनुमति दिएको छ ।
जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार नेकपा एमालेले दिउँसो २ बजेसम्म कार्यक्रम गर्न पाउनेछ भने त्यसपछि राजावादी समूहले २ बजेपछि आफ्नो प्रदर्शन सुरु गर्नेछन् ।