सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न आर्थिक वर्ष २०८२/८३ का लागि राजस्व र व्ययको अनुमान (बजेट) प्रस्तुत हुने भएको छ। बजेट प्रस्तुत गर्नु अघि आज मध्याह्न मन्त्रिपरिषद्को बैठक बस्ने कार्यक्रम रहेको छ । उक्त बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आजै अपराह्न राष्ट्रिय योजना आयोगको बैठकसमेत बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सो बैठकमा आगामी वर्षको बजेटको प्राथमिकता, योजना र कार्यक्रमबारे छलफल हुने अपेक्षा गरिएको छ ।
बजेट प्रस्तुतिको लागि सङ्घीय संसद्को संयुक्त बैठक आज अपराह्न ३ः०० बजे बस्नेछ । उक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।