प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश राजतन्त्र र गणतन्त्रमध्ये कुन उत्तम हो भन्ने बहस आजको आवश्यकता नभएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा बिहीबार टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रसँग राजतन्त्रको तुलना गर्नै नसकिने स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले जनताले हुकुमी राजतन्त्रलाई परास्त गरेर स्थापना गरेको गणतन्त्र कुनै पनि अभिजात वंशको विशेषाधिकारभन्दा धेरै माथि रहेको बताए । उनले भने, “इतिहासका विभिन्न कालखण्डमा निरंकुश राजतन्त्र र जनताबीच संघर्ष र सम्झौताहरू भए । ती सम्झौताहरू पटक–पटक तोडिँदा जनताले अन्ततः गणतन्त्र स्थापना गरेका हुन् ।”
उनले वर्तमान समाज स्वतन्त्रताको अभ्यासमा हुर्किएको समाज भएको उल्लेख गर्दै भने, “जनताको मतभन्दा शाही इशारा ठूलो हो भन्ने कुरा आजको समाजले किमार्थ मान्दैन । हजारौं शहीदको बलिदान र लाखौं नेपालीको सपनालाई बदनाम शासन चलाउने कुनै वंशको विशेषाधिकारसँग तुलना गर्न सकिँदैन ।”
ओलीले गणतन्त्रमा हरेक नागरिकको आत्मसम्मान सुरक्षित भएको भन्दै शिक्षा, स्वास्थ्य, उद्यम र रोजगारीका क्षेत्रमा परिवर्तन आएको बताए। उनले गणतान्त्रिक प्रणालीमा अझै सुधार आवश्यक रहेको स्वीकार गर्दै सुशासन, पारदर्शिता र उत्तरदायित्व कायम गर्न सरकार प्रतिबद्ध रहेको जनाए ।
उनको भनाइमा, “गणतन्त्रले जनताको सपना सुरक्षित गर्छ, दरबारको भित्तामा टाँस्ने कुनै शक्ति वा अधिकार छैन। हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लागिपरेका छौं ।”