मधेश प्रदेशका अधिकांश जिल्लामा अहिले पानीको गम्भीर अभाव देखिएको छ ।
इनार, चापाकल, ट्युबवेल र ह्यान्डपाइपहरू सुक्न थालेका छन् भने गहिरो भू-गर्भ खनेर जडान गरिएका ह्यान्डपाइपहरूबाट पनि पर्याप्त मात्रामा पानी आउन छाडेको स्थानीयवासीहरू बताउँछन् ।
धेरै ठाउँमा ४०–५० फिट गहिराइमा पाइने पानी अहिले १०० फिटभन्दा गहिराइमा पनि सहज उपलब्ध छैन । पानी नआएपछि बिहानको केहीबेर बाहेक बाँकी समय पानी निकाल्न सम्भव छैन ।
८० वर्षीय जनकपुरवासी नथुनी साह भन्छन्, ‘हाम्रो पालामा ४० फिटमा पिउनयोग्य पानी पाइन्थ्यो, अहिले सय फिट खनेर पनि पानी आउँदैन । चुरे जंगल विनाशको असर हो यो।’ उनी थप्छन्, ‘चुरे जोगाउन नसके भित्री मधेश मरुभूमि बन्छ, अनि गाईभैंसी होइन उँट पाल्नुपर्ने अवस्था आउँछ ।
स्थानीय सरकारहरूले चुरे संरक्षण, पानी स्रोत व्यवस्थापन र भू-जल पुनर्भरणमा कुनै खास पहल नगरेको जनगुनासो छ । तराई–मधेश क्षेत्रको जल संकट दीर्घकालीन हुने संकेत देखिन थालेपछि स्थायी समाधानका लागि वैज्ञानिक योजना, चुरे संरक्षण र सामुदायिक सचेतना आवश्यक देखिन्छ ।