प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकाङ्क्षा त्यागेर राष्ट्रिय हित, परिवर्तन र समृद्ध नेपाललाई ध्यान दिएर अघि बढे एमालेले आगामी निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरेका छन् ।
नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशभित्र र बाहिरका अनेक स्वार्थको टक्करबाट एमालेलाई कमजोर बनाउने प्रयास भए पनि अहिले पार्टी सुदृढ भइसकेको बताए ।
प्रधानमन्त्री ओलीले भने, “भविष्यमा पनि अयोग्य हुने गरी प्रतिक्रियावादीहरूले मलाई साधारण सदस्यबाट हटाएको घोषणा गरे। विचार र विकासको नायक पार्टीलाई सिध्याउने भन्दै मोर्चाबन्दी गरे। तर, हामीले ती सबै घेराबन्दीलाई पराजित गरेर फेरि एमालेलाई लोकप्रिय बनाएका छौं ।”
उनले व्यक्तिगत लाभभन्दा राष्ट्र, परिवर्तन र समृद्धिको पक्षमा अग्रसर भए कसैले एमालेको बहुमत रोक्न नसक्ने दाबी गरे। “विभाजन हुँदा पनि हामी लोकप्रिय पार्टी बन्न सक्यौं। आज एमालेलाई भित्तामा टाँसिदिन्छु भन्ने कसैको हैसियत छैन। त्यसकारण हामी ‘मिशन २०८४’ मा अघि बढेका छौं,” ओलीले भने ।
प्रधानमन्त्री ओलीले बुद्धिजीवी वर्गलाई राष्ट्रको संक्रमणकालीन अवस्थाबाट समाधान निकाल्न सशक्त भूमिका खेल्न आग्रह गरे। उनले सही विचारको समर्थन गर्दा ‘झोले’ भन्ने आलोचना भए पनि परिवर्तन र जनताको पक्षमा बोल्न नहिच्किचाउन अनुरोध गरे ।
“म एमालेको झोले हुँ, यही झोलामा देश र जनताको परिवर्तनको चाहना बोकेको छु। यसमा मलाई गर्व छ,” उनले भने, “तपाईंहरू बुद्धि बेचेर खाने वर्ग मात्रै होइन, बौद्धिक वर्ग हो। देशलाई नोक्सान पार्ने र बेठिक गर्नेहरूको विरोध गर्नुस्। सही विचार दिनेहरूलाई थप सुधारका सुझाव दिनुस् ।”
ओलीले एमालेलाई राष्ट्रिय एकता सर्वोपरि मान्ने पार्टीको रुपमा प्रस्तुत गर्दै वर्तमान लोकतन्त्र र संविधानको रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताए। उनले राजतन्त्र पुनःस्थापनाको कुरा अप्रासंगिक भएको टिप्पणी गरे ।