शिक्षा सेवा आयोगको निम्न माध्यमिक तहको परीक्षा दिएर घर फर्किन लागेका करिब १,५०० परीक्षार्थी गण्डकी प्रदेशमा सार्वजनिक यातायात ठप्प हुँदा पोखरामा अलपत्र परेका छन् । राइड शेयरिङ र सेल्फ ड्राइभसम्बन्धी नयाँ नियमावलीको विरोधमा यातायात व्यवसायीले शुक्रबारदेखि प्रदेशभर सवारी ठप्प पार्दा परीक्षार्थीहरू बिचल्लीमा परेका हुन् ।
पर्साको वीरगञ्जबाट परीक्षा दिन पोखरा आएका एमडी सरोजलाई शनिबार दिउँसो नै घर फर्किनुपर्ने थियो । तर, परीक्षा सकेर दिउँसो साढे २ बजे बसपार्क पुगेका उनी साँझ ६ बजेसम्म बसपार्कमै गाडीको पर्खाइमा बसिरहे। गाडी नपाएपछि उनी स्कुल बसमार्फत मुग्लिङतर्फ लाग्न बाध्य भए ।
त्यस्तै, सल्यानकी कमला केसी ओली आइतबार विद्यालयको कक्षा भेट्टाउनुपर्ने बाध्यतामा थिइन् । तर गाडी नपाउँदा उनी अस्तव्यस्त भएकी छन् । “गाडी नपाउँदा भोलिको कक्षा भेट्टाउन कठिन छ,” उनले भनिन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार, करिब १५–१६ सय परीक्षार्थी गाडी नपाएर अलपत्र परेका थिए। प्रहरीको पहलमा उनीहरूलाई स्कुल बस, पर्यटक बस र ट्रकमार्फत मुग्लिङ पठाइएको हो ।
नवलपुरकी दीपा थापा, सल्यानका भीमसेन ओली र सीताराम थारु पृथ्वीचोकमा बस कुरिरहेकै अवस्थामा भेटिए। बस नपाउँदा कतिपयको परीक्षा छुटेको गुनासो उनीहरूको छ। भीमसेनले भने, “भोलिदेखि विद्यालय जानुपर्नेछ, तर बन्दले स्थिति नाजुक बनेको छ ।”
राइड शेयरिङ तथा सेल्फ ड्राइभसम्बन्धी नियमावली खारेज गर्नुपर्ने माग गर्दै यातायात व्यवसायीले गण्डकी प्रदेशमा सार्वजनिक सवारी ठप्प पारेका छन् । उनीहरूले १९ गतेदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी पनि दिएका छन् ।
सार्वजनिक यातायात सेवा बचाउ अभियान गण्डकीका प्रवक्ता योगेन्द्र केसीले सरकारले हचुवाको भरमा नियम ल्याएको भन्दै विरोध गर्नुपर्ने बाध्यता आएको बताए। “यात्रुलाई परेको असुविधाप्रति क्षमाप्रार्थी छौं,” उनले भने ।