गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नयाँ नियमावली ल्याएको भन्दै सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलित भएका छन् ।
उनीहरूले २०८२ साल जेठ १९ गतेदेखि देशभर गाडी ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै देशभर यातायात सेवा बन्द गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।
उनीहरूका अनुसार गण्डकी प्रदेश सरकारले संविधान तथा विद्यमान सवारी ऐन विपरीत निजी सवारीसाधनलाई यात्रु ओसारपसारमा प्रयोग गर्न दिने नियमावली जारी गरेपछि विरोधमा उत्रनु परेको हो । "संविधानको धारा ५७ को उपधारा ६, उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८(२) तथा १२(१) को स्पष्ट उल्लङ्घन गर्दै निजी सवारीलाई सार्वजनिक सवारी सरह मान्यता दिइएको छ, जुन हामीलाई स्वीकार्य छैन ।" व्यवसायीहरूले विज्ञप्ति मार्फत भनेका छन्,
विज्ञप्तिमा भनिएको छ, "सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको हुँदा बाध्य भई हाम्रो सवारी साधन मिति २०८२/२/१९ गतेदेखि ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरेका छौं ।"
व्यवसायीहरूले सेवा बन्दका कारण यात्रु, विद्यार्थी, कर्मचारी, व्यवसायी लगायत आम नागरिकले पर्ने असुविधाको जिम्मेवारी राज्यले लिनुपर्ने स्पष्ट पारेका छन् ।