महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले केटीको विवाह गर्ने न्यूनतम उमेर घटाउनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
आइतबार जनकपुरधाममा आयोजित ‘राष्ट्रिय बालबालिका नीति, २०८०’ कार्यान्वयन कार्ययोजना मस्यौदासम्बन्धी मधेश प्रदेशस्तरीय राय सुझाव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले सामाजिक, धार्मिक र अभिभावकहरूको मागअनुसार विवाह उमेर घटाउनु उपयुक्त हुने बताएका हुन् ।
“सरकारले केटीका लागि विवाह गर्ने उमेर न्यूनतम २० वर्ष तोकेको छ, अब त्यसलाई १८ वर्षमा ल्याउनुपर्छ,” मन्त्री साहले भने, “यस सम्बन्धी प्रस्ताव म संघीय संसद्मा पनि पेस गरिसकेको छु ।” उनका अनुसार अहिलेको कानुनी व्यवस्था समाजको वास्तविकता र आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने समय आएको छ ।
कार्यक्रममा बाल अधिकार, सामाजिक संरक्षण र नीति कार्यान्वयनमा प्रादेशिक समन्वयको आवश्यकता विषयमा समेत छलफल भएको थियो ।