कृषि क्षेत्रको विकास र महिला सशक्तीकरणलाई लक्षित गर्दै मधेश प्रदेश सरकारले प्रदेशभरका सबै वडामा महिला कृषक स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ ।
‘महिला कृषक स्वयंसेविका कार्यक्रम’ अन्तर्गत प्रदेशका १००४ वडामा एक–एक जना महिलालाई जिम्मेवारी दिने तयारी गरिएको हो । मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार, यो कार्यक्रमले विगतमा सफल देखिएको महिला स्वास्थ्य स्वयंसेविका मोडललाई कृषि क्षेत्रमा उतार्ने उद्देश्य लिएको छ ।
"गाउँगाउँका कृषकसँग प्रत्यक्ष सम्पर्क कायम गरी कृषि सेवा प्रवाह गर्न स्वयंसेविका तैनाथ गरिनेछ," मुख्यमन्त्री सिंहले बताए, "यसले अन्न उत्पादनमा आत्मनिर्भरता हासिल गर्न सहयोग पुग्नेछ ।"
यस कार्यक्रमअन्तर्गत स्वयंसेविकाहरूले बिउ उत्पादन, कीरा नियन्त्रण, मल व्यवस्थापन, नयाँ कृषि प्रविधिको प्रयोगलगायत विषयमा कृषकलाई घर–घरमै सेवा दिनेछन्। त्यसका लागि उनीहरूलाई आवश्यक तालिम प्रदान गरिनेछ ।
मुख्यमन्त्री सिंहले यस कार्यक्रमले महिलालाई रोजगार, सीप र आत्मनिर्भरता प्रदान गर्ने स्पष्ट गर्दै भने, “मधेश श्रमप्रधान प्रदेश हो, जहाँका धेरै युवा रोजगारीको लागि विदेश जान बाध्य छन्। अब हामी कृषि क्षेत्रमै रोजगारी सिर्जना गर्दैछौं ।” भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जेठ १५ गते सूचना प्रकाशित गर्दै स्वयंसेविका भर्नाका लागि दरखास्त आह्वान गरिसकेको छ । इच्छुक महिलाले १५ दिनभित्र नजिकको कृषि ज्ञान केन्द्रमा आवेदन दिन सक्नेछन् ।
प्रदेश सरकारको यो कदमले महिलालाई नेतृत्व, स्वरोजगार र सीप विकासको अवसर प्रदान गर्नुका साथै ग्रामीण कृषि प्रणालीलाई बलियो बनाउने विश्वास लिइएको छ। यो कार्यक्रम दीर्घकालीन रूपमा खाद्य सुरक्षामा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।