सङ्घीय संसद्को दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि निर्धारण गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूचीमा छ । उक्त प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल हुने कार्यक्रम तय गरिएको छ ।
यसैगरी, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि प्रतिनिधिसभाको बैठकमा समावेश गरिएको छ ।
राष्ट्रियसभाको बैठकमा पनि महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने कार्यक्रम रहेको छ । अर्थमन्त्री पौडेलले ‘भन्सार विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्, जुन प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको हो । त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ मा प्रतिनिधिसभाबाट प्राप्त संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।
साथै, संशोधनलाई सहमति गरियोस् भन्ने अर्को प्रस्ताव पनि सभामा प्रस्तुत हुने कार्यसूचीमा छ । आजको बैठकहरूमा बजेट प्रस्तावसँगै विभिन्न महत्त्वपूर्ण विधेयकमाथि छलफल र सहमति जुट्ने अपेक्षा गरिएको छ ।