काभ्रेको रोशी गाउँपालिका ७ का वडाध्यक्ष अशोककुमार गौतम, पुलका पाटपुर्जा चोरीको आरोपमा पक्राउ परेका छन् ।
रोशी गाउँपालिका ७ र नमोबुद्ध नगरपालिका ६ को सिमानामा रहेको पुललाई रोशी खोलाले बगाएको थियो। खोलाले बगाएको पुलका फलामे पार्टपुर्जा चोरी गरी विक्री गरेको आरोपमा सोमबार वडाअध्यक्ष गौतम पक्राउ परेको प्रहरीले जनाएको छ ।
जेठ १२ गते पक्राउ परेको ४ जनालाई थप अनुसन्धान गर्ने क्रममा सोमबार वडा अध्यक्ष गौतम पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलले जानकारी दिए ।
प्रहरीका अनुसार चोरी गरि विक्री गरेको सामान दुई वटा टिपरमा लोड गर्दैगर्दा भारतका ३२ वर्षीय मन्टु कुमार, सर्लाहीका ३९ वर्षीय जितेन्द्र पासवान, टिपर चालकहरू काभ्रेका ४७ वर्षीय मानबहादुर तामाङ र ४० वर्षीय रमेश लामा पक्राउ परेका थिए
अहिले वडा अध्यक्ष सहित पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।