काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यालय प्रवेशमा अवरोध गरेको र बल प्रयोग गरेको आरोपमा उनलाई निलम्बन गरेका हुन् । निलम्बन सम्बन्धी निर्णय अनुसार, गत चैत २१ गतेको घटनाको छानबिन नसकिएसम्म, महानगर प्रहरी बल ऐनअनुसार पाण्डेलाई अधिकतम ६ महिनाको लागि निलम्बन गरिएको हो । प्रशासकीय अधिकृत गुरागाईंले यो निर्णय महानगर प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोललगायत सम्बन्धित पदाधिकारीहरूलाई जानकारी गराएका छन् ।
सूत्रका अनुसार, सो घटनामा प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन पाण्डेले बल प्रयोग गरेका थिए सो क्रममा उपमेयर डंगोल र केही वडाध्यक्षहरूसँग पनि भनाभन भएको थियो। गुरागाईंले उक्त घटनापछि स्पष्टीकरण मागेका थिए तर पाण्डेको जवाफ सन्तोषजनक नलागेपछि निलम्बनको निर्णय गरिएको बुझिएको छ ।