प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालको नियमन, पुरस्कार वितरण प्रणालीको पारदर्शिता, वरिष्ठ पत्रकार उपाधिको मापदण्ड, अनलाइन सेवा प्रणालीको विकास, प्रदेशस्तरीय मिडिया अनुगमन र सम्पादक संवाद कार्यक्रममार्फत पत्रकारिता क्षेत्रमा संरचनागत सुधारको पहल थालेको छ ।
पछिल्लो समय ‘प्रचलित मिडिया नामजस्तै देखिने’ फेसबुक पेज, युट्युब च्यानल र विभिन्न सामाजिक सञ्जालबाट सामग्री सार्वजनिक भइरहेकाले त्यसको स्पष्टता ल्याउन काउन्सिलले विशेष पहल गरेको छ । अब मिडियाले सञ्चालन गरेका यस्ता प्लेटफर्महरू सूचीकरणका बेला प्रमाणपत्रमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । यसले यस्ता सञ्जालहरूको पहिचान गर्न र नियमनमा सहजता ल्याएको काउन्सिलको भनाइ छ ।
पुरस्कार कार्यविधिमा स्पष्ट मापदण्ड
काउन्सिलबाट प्रदान हुने विभिन्न पत्रकारिता पुरस्कारमा प्रष्ट मापदण्डको अभावले आलोचना हुने गरेकोमा अब त्यस्तो अन्योल अन्त्य हुने भएको छ । प्रेस काउन्सिलको बोर्ड बैठकले हालै "प्रेस काउन्सिल पत्रकारिता पुरस्कार कार्यविधि–२०८१" पारित गरी पुरस्कारको संख्या, आधार, औचित्यता र प्रक्रिया स्पष्ट पारेको छ। यसले पुरस्कार प्रणालीलाई पारदर्शी र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ ।
वरिष्ठ पत्रकार उपाधिमा औपचारिकता
कानुन व्यवसायीलाई जस्तै पत्रकारलाई पनि औपचारिक रूपमा ‘वरिष्ठ’ उपाधि दिनुपर्ने माग उठ्दै आएकोमा काउन्सिलले त्यससम्बन्धी मापदण्ड तयार पारी औपचारिक प्रक्रिया सुरु गरेको छ । माघ ७ गते बसेको काउन्सिलको बोर्ड बैठकबाट वरिष्ठ उपाधि सम्बन्धी मापदण्ड पारित भएको हो ।
सूचीकरण प्रक्रिया पूर्णतः अनलाइन प्रणालीमा
काउन्सिलका अनुसार, अब अनलाइन सूचीकरण, उजुरी दर्ता, अभिमुखीकरण कक्षा तथा प्रमाणपत्र वितरणसमेत डिजिटल प्रणालीबाट हुनेछन् । यसले काठमाडौं बाहिरका सञ्चारकर्मीलाई राजधानी आउनुपर्ने बाध्यता अन्त्य गर्नेछ ।
प्रदेशस्तरीय मिडिया अनुगमन सुरु
मिडियाको स्तर, चुनौती र सुधारका पक्षमा ठोस आधार तयार गर्न काउन्सिलले पहिलो पटक प्रदेशस्तरीय स्थलगत अनुगमन सुरु गरेको छ । करिब दुई महिनासम्म देशका विभिन्न प्रतिनिधिमूलक जिल्लामा अनुगमन टोलीले मिडियाकर्मी, नागरिक, स्थानीय अधिकारीहरूसँग प्रत्यक्ष भेटघाट गरी संवाद गरेको थियो । प्रारम्भिक प्रतिवेदनमा छापा, रेडियो, टेलिभिजन र अनलाइन मिडियाका समस्यामाथि व्यापक सुझाव समेटिएको काउन्सिलको दाबी छ ।
सम्पादक संवाद शृङ्खला सुरु
काउन्सिलले सम्पादक, सञ्चारमन्त्री, विज्ञहरू र सम्पादन तहमा रहेका व्यक्तिहरूसँग संवाद थालेर मिडियाको समसामयिक चुनौतीबारे बहस सुरु गरेको छ । पहिलो पटक २०८० साउनमा रानीकोटमा ५० सम्पादक सहभागी संवादपछि काउन्सिलले काठमाडौं तथा बाहिर विभिन्न जिल्लामा पनि कार्यक्रम विस्तार गरेको छ । अब सम्पादकसँग मात्र नभई प्रकाशक र श्रमजीवी पत्रकारसँग पनि संवाद गर्ने तयारी भइरहेको छ ।
६ नयाँ सदस्य नियुक्त
प्रेस काउन्सिल नेपालमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेस युनियन र प्रेस चौतारीबाट तीन–तीन जना गरी ६ जना सदस्य नियुक्त गरेका छन् । युनियनबाट नकुल अर्याल, बालकृष्ण अधिकारी र पदमराज जोशी तथा चौतारीबाट निमा काफ्ले, भीमलाल श्रेष्ठ र शान्तराम विडारी काउन्सिल सदस्यमा नियुक्त भएका छन् ।