मिटरब्याज पीडित शान्ती तामाङको पक्राउको विरोधमा गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले ६ जनालाई पक्राउ गरेपछि बाँकेमा अवस्था तनावपूर्ण बन्दै गएको छ ।
शान्ती तामाङले मिटरब्याज समस्या समाधान आयोगमा दिएको उजुरीमा छलफल अघि नै प्रहरीले जेठ १२ गते उनलाई पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट जेठ १३ गते बाँके जिल्ला समितिले जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण धर्ना तथा छलफलको माग गर्दै कार्यक्रम थालेको थियो । तर, प्रदर्शन सुरु भएको केही समयमै प्रमुख जिल्ला अधिकारी (सीडियो) को आदेशमा प्रहरीले ६ जना प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।
प्रदर्शनकारीहरूले सीडियोमाथि व्यक्तिगत प्रतिसोध साँध्ने नियतले पक्राउ गरिएको आरोप लगाएका छन् । संगठनका अनुसार, घटना सम्बन्धमा सीडियोसँग समन्वय गर्ने प्रयासका क्रममा संगठन सदस्य श्नेही विकाससँग भएको टेलिफोन संवाद विवादमा परिणत भएको र त्यसलाई आधार बनाई झूटा मुद्दा दर्ता गरिएको दाबी गरिएको छ ।
प्राप्त जानकारी अनुसार, सीडियोको निर्देशनमा काठमाडौं प्रहरीलाई समेत पक्राउ आदेश दिइएको छ । काठमाडौंस्थित पीडित संगठनको कार्यालयमा सिभिल ड्रेसमा प्रहरी पुगेको र सोधपुछ थालिएको पनि संगठनले जनाएको छ । पीडित पक्षले छलफल र समन्वयबाट समाधान खोज्ने प्रयास गरे पनि, प्रशासनले आफ्नो व्यक्तिगत अहंकारका कारण समस्या समाधानमा असहयोग पुर्याएको आरोप लगाएको छ ।