नारायणी अस्पतालमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुँदा आईसीयू (ICU) वार्डका बिरामीहरू ज्यान जोखिममा परेका छन् ।
अस्पतालको महत्त्वपूर्ण सेवा अवरुद्ध भई सम्पूर्ण सञ्चालन प्रभावित भएको यस घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै स्थानीय जनप्रतिनिधिहरूले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गराएका छन् । सोमबार पर्सा क्षेत्र नं. १ का सांसद तथा खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले संयुक्त रूपमा स्वास्थ्य मन्त्री पौडेललाई भेट गरी तत्काल समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेका छन् ।
अस्पतालमा आईसीयू, सीसीयू लगायतका अति संवेदनशील सेवा चौपट हुनु र व्यवस्थापनको लापरबाहीले नागरिकको स्वास्थ्य जोखिममा परेको जनाउँदै उनीहरूले अस्पतालको संरचना, सेवा र व्यवस्थापनमा सुधारका लागि संघीय सरकारको तत्काल हस्तक्षेप आवश्यक रहेको बताएका छन् ।
भेटका क्रममा वीरगन्ज महानगरपालिकाको तर्फबाट मन्त्री पौडेललाई औपचारिक रूपमा ज्ञापन पत्र समेत बुझाइएको थियो। सो ज्ञापन पत्रमा विद्युत् आपूर्ति, प्राविधिक पूर्वतयारीको अभाव, जनशक्ति व्यवस्थापन र अनियमितताका विषयमा गम्भीर ध्यानाकर्षण गराइएको छ ।