नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा काण्डमा सत्यतथ्य सार्वजनिक गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गम्भीर प्रकृतिको यो विषयबारे संसदले नै छानबिन गर्नुपर्ने आवश्यकता औंल्याए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहित अन्य विपक्षी दलहरू संसद अवरुद्ध गरिरहेका छन् । उनीहरूले गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन् ।
यही विवादबीच गृहमन्त्री लेखकले एकैदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी अधिकृतको सरुवा गरी तुरुन्तै फिर्ता गरेको घटनाले झनै शंका उत्पन्न गराएको प्रमुख सचेतक पाण्डेको टिप्पणी छ ।
"नागरिकले सुशासन चाहेका बेला सरकारले अपारदर्शी र अनुचित गतिविधि गर्दै आएको देखिन्छ," पाण्डेले भने, "यो प्रवृत्तिले शासनप्रतिको जनविश्वास थप खस्किन्छ ।"
त्यस्तै, प्रमुख सचेतक पाण्डेले सरकारले विभिन्न विधेयकहरूको टुंगो लगाउने मामिलामा पनि गम्भीर ध्यान नदिएको आरोप लगाए । संसदमा विचाराधीन रहेका विधेयकहरूमा सरकारको उदासीनता लोकतान्त्रिक प्रक्रियाप्रति गैरजिम्मेवार व्यवहार भएको उनको भनाइ थियो ।