इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक (डिएसपी) शुभद्रा वाइबालाई नेपाल प्रहरीको प्रधान कार्यालय, नक्साल फिर्ता बोलाइएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले “केही बुझ्नुपर्ने” कारणले वाइबालाई मुख्यालय झिकाइएको जानकारी दिए । “प्राविधिक रूपमा आवश्यकताअनुसार डिएसपी वाइबालाई हेडक्वार्टर फिर्ता बोलाइएको हो,” थापाले बताए ।वाइबाको स्थानमा डिएसपी वेद जोशीलाई सिमरा पठाइएको छ ।
स्रोतका अनुसार, डिएसपी वाइबाको सिमरामै सरुवा भएको झन्डै ६ महिना पनि नपुग्दै विवादका कारण फिर्ता बोलाइएको हो । वाइबा र जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत (सहसचिव) शान्तिराज प्रसाईंबीच केही दिनदेखि विवाद चुलिएको थियो ।
उपमहानगरपालिकाले वाइबामाथि "तेलको कुपन च्यातेको" आरोप लगाउँदै आएको छ। वाइबा पक्षका एक स्रोतका अनुसार सहसचिव प्रसाईंले आफूलाई घटनाबारे ब्रिफिङ नगरेको भन्दै सरुवा गरिदिने धम्की दिँदै आएका थिए ।
कानुनी रूपमा प्रशासकीय अधिकृतले शान्ति सुरक्षा तथा अपराध अनुसन्धानसम्बन्धी काममा हस्तक्षेप गर्न नमिल्ने भए पनि पछिल्लो घटनाक्रमले स्थानीय प्रशासन र सुरक्षाबीचको सम्बन्धमा प्रश्न खडा भएको छ ।