पप्पु कन्स्ट्रक्सनका सञ्चालक तथा पूर्व सांसद हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियारलाई ठगीको आरोपमा प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
पर्सा जिल्ला प्रहरीको अनुरोधमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट उनलाई पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले श्रुती रौनियार पक्राउ परेको पुष्टि गर्दै कानुनी प्रक्रिया पूरा गरी उनलाई पर्सा पठाउने तयारी भइरहेको जानकारी दिए ।
पर्सा प्रहरीले उनीविरुद्ध ठगी तथा विश्वासघातको आरोपमा अनुसन्धान थालेको जनाएको छ । पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार श्रुती रौनियारलाई चार करोड ३२ लाख रुपैयाँको संयुक्त कारोबार एकलौटी रूपमा हिनामिना गरेको आरोपमा पक्राउ गरिएको हो ।
उनका अनुसार, यसअघि अदालतबाट पक्राउ नगर्न अन्तरिम आदेश (स्टे अर्डर) लिइए पनि अन्ततः अदालतले नै पक्राउ अनुमति दिएपछि पक्राउ गरिएको हो । "हामीकहाँ ल्याएपछि अब अनुसन्धान प्रक्रिया अघि बढ्नेछ," एसपी मिश्रले बताए । श्रीमती श्रुती र उनका श्रीमान् सुमित रौनियार पप्पु कन्स्ट्रक्सनसँग आबद्ध रहँदै विभिन्न व्यापारिक गतिविधिमा संलग्न रहेको बताइएको छ । हाल श्रुतीमाथि लागेको आरोपको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन् ।
अनुसन्धान अघि बढेसँगै थप जानकारी सार्वजनिक हुने प्रहरीले जनाएको छ ।
भिडियाे सामाग्री