मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रदेश सभाको बैठकमार्फत प्रदेश प्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको छ । मधेस प्रदेश नीति आयोगका उपाध्यक्ष डा. सोहन साहका अनुसार यसपटकको नीति तथा कार्यक्रम विगतभन्दा फरक र व्यावहारिक हुने अपेक्षा गरिएको छ । "इन्टरकनेक्टेड वे" अवधारणामा आधारित नीति तथा कार्यक्रम ल्याउन लागिएको उनले जानकारी दिए ।
“यसपटकको नीति तथा कार्यक्रम विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा व्यवसायीकरणलाई प्राथमिकतामा राखेर तयार पारिएको छ,” डा. साहले भने । उनका अनुसार कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने योजनाहरू अगाडि सारिएको छ ।
आन्तरिक उत्पादन बढाएर युवालाई स्थानीय तहमै रोजगारी दिलाउने लक्ष्यसहित योजनाहरू तयार पारिएको जनाइएको छ । त्यसैगरी, मधेसको सामाजिक तथा आर्थिक विकासलाई सन्तुलित ढंगले अघि बढाउन पूर्वाधारलगायतका क्षेत्रहरूमा दीर्घकालीन योजना ल्याउने तयारी भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रमपछि आगामी साता बजेट सार्वजनिक गर्ने तयारी छ ।
मधेस प्रदेश सरकारले बजेटमार्फत रोजगारी, कृषि आधुनिकीकरण र स्वास्थ्य पहुँच विस्तारमा विशेष जोर दिने बताइएको छ ।