अभ्यासको क्रममा सप्तरीको सप्तकोशी नदीमा डुबेर बेपत्ता भएका दुई जना सशस्त्र प्रहरी जवानको खोजी कार्य जारी रहेको छ ।
यही क्रममा बिहीबार बेवारिसे अवस्थामा एकजनाको शव फेला परेको छ । मधेश र कोशी प्रदेशको सीमामा पर्ने सप्तकोशी नदीमा मनसुनको बेला हुने बाढीमा फसेकाहरूको उद्धार कसरी गर्ने भन्ने उद्देश्यले अभ्यास गरिरहेका बेला सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बलका अनुसार राजविराजबाट करिब २२ किलोमिटर टाढा रहेको घटनास्थलमा सशस्त्रको संयुक्त टोली खटिएको छ। खोजीको क्रममा फेला परेको शवको पहिचान अझै खुलेको छैन । सप्तरीका प्रमुख जिल्ला अधिकारीले घटनास्थलमा पुगेर अवस्था अवलोकन गरेका छन् ।
उनका अनुसार शवको पहिचान र मृत्युको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ । मधेश र कोशी प्रदेशको सशस्त्र प्रहरी कार्यालयको समन्वयमा हराइरहेका जवानहरूको खोजी कार्य तीव्र पारिएको छ ।
प्रशासनले गोताखोर टोली परिचालन गरेको छ ।