देशभरिका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन आजदेखि विराटनगरमा सुरु भएको छ ।
संघीयतालाई संस्थागत गर्ने उद्देश्यसहित पहिलोपटक विराटनगरमा आयोजना गरिएको सम्मेलन आज र भोलि (जेठ २३ र २४ गते) विराटनगरको वीरेन्द्र सभागृहमा हुँदैछ ।
विराटनगर महानगरपालिकाको आयोजनामा भइरहेको सम्मेलनमा न्यायिक समितिबाट निरुपण हुने विवाद तथा मुद्दाहरूलाई थप प्रभावकारी बनाउने, वार्षिक योजना तर्जुमा र त्यसको अनुगमन तथा मूल्याङ्कन प्रक्रियामा उपप्रमुख तथा उपाध्यक्षहरूको भूमिकाबारे स्पष्टता ल्याउने उद्देश्य राखिएको छ । विराटनगर उपमहानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार सम्मेलन स्थानीय सरकारको आन्तरिक राजस्व वृद्धि र संघीय शासन प्रणालीलाई मजबुत पार्न सहयोगी हुनेछ ।
कार्यक्रममा सेवा प्रवाह, विकास निर्माण कार्यमा अनुभव आदान–प्रदान, कानुनी अस्पष्टता तथा बाझिएका प्रावधानका बारेमा छलफल गरिने र संघ तथा प्रदेश सरकारलाई सुझावसहितको घोषणापत्र उपलब्ध गराइने भएको छ ।
सम्मेलनमा देशभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, कोसी प्रदेशका १३७, मधेस प्रदेशका ७३, बागमती प्रदेशका २१ र अन्य प्रदेशका नगर तथा गाउँपालिकाबाट गरी २९१ जना उपप्रमुख तथा उपाध्यक्ष सहभागी हुनेछन् । यद्यपि, मौसममा आएको खराबीका कारण सबै स्थानीय तहबाट सहभागिता सुनिश्चित गर्न कठिनाइ भएको आयोजकले जनाएको छ ।
दुई दिने सम्मेलनमा तीन वटा कार्यपत्रहरू प्रस्तुत गरिनेछ। न्यायिक समितिको भूमिकाबारे काशीराज दाहाल, वित्तीय संघीयता र स्थानीय तहको भूमिकाबारे डा. गोपी खनाल र विकास प्रक्रियामा उपप्रमुख तथा उपाध्यक्षको भूमिकाबारे रमेश अधिकारीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
महानगरपालिकाका अनुसार धेरैजसो पालिकाका प्रतिनिधिहरू विराटनगर पुगिसकेका छन्। सम्मेलन विराटनगर महानगरपालिका, कोसी प्रदेशको एक मात्र महानगर, को नेतृत्वमा सम्पन्न हुँदैछ ।
भिडियाे सामाग्री