नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्ने वातावरण बने संसदको अवरोध खुल्ने बताएका छन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले सो प्रकरणमा छानविन आवश्यक रहेको बताउँदै सत्तापक्ष तयार भए संसद सञ्चालन सहज हुने उल्लेख गरे । उनले भिजिट भिसा प्रकरण गम्भीर भएकोले सत्यतथ्य बाहिर आउनु पर्नेमा जोड दिए ।
उनका अनुसार प्रतिपक्षले उठाएका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलको तयारी भइरहेको छ। कांग्रेसका अन्य नेताहरू पनि छानविन प्रक्रिया अघि बढाउन सकारात्मक रहेको भन्दै प्रचण्डले छिट्टै सहमति बन्ने विश्वास व्यक्त ग रे। उनले एक-दुई दिनभित्रै यो विषयमा उचित निकास आउने बताए ।
त्यस्तै, पतञ्जली जग्गा प्रकरणबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रचण्डले सरकारको नीतिगत निर्णयमै अख्तियारले मुद्दा दायर गरेपछि त्यसमा प्रश्नचिन्ह उठेको टिप्पणी गरे ।
माधव नेपालविरुद्ध दायर मुद्दाबारे बोल्दै प्रचण्डले प्रतिशोधको गन्ध आएको बताएका छन् । उनले नेपाल स्वयंले अदालतमा न्याय पाउने विश्वास व्यक्त गरेको स्मरण गराउँदै आफूलाई पनि न्यायप्रति विश्वास रहेको उल्लेख गरे ।