प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अनेरास्ववियुका नेता–कार्यकर्तालाई गुटगत प्रवृत्ति त्याग्न स्पष्ट निर्देशन दिएका छन् । कीर्तिपुरमा आयोजित अनेरास्ववियुको महाधिवेशन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गुटको राजनीति राष्ट्र र पार्टीका लागि घातक हुने बताएका हुन् ।
‘गुट बनाएर हिँड्ने हो भने माया पार्टीप्रति होइन, गुटप्रति लाग्छ। अनि देशको पनि होइन, गुटको माया लाग्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘एकीकृत समाजवादी पार्टी भन्ने छ नि, त्यही गुटगत प्रवृत्तिले त्यो पार्टीलाई टर्च बालेर पनि नभेटिने अवस्थामा पुर्यायो ।’
प्रधानमन्त्री ओलीले विद्यार्थी नेताहरूमाझ मित्रवत् प्रतिस्पर्धाको पक्षमा उभिन आग्रह गरे। उनले भने, ‘सकेसम्म मिलेर जानुस्। सकिएन भने मित्रवत् प्रतिस्पर्धा गर्नुस्। जितेर आए पनि, नजिते पनि काम गर्नुस्। व्यक्तिगत रूपमा अगाडि बढ्नुस्। तपाईंहरूको कामको मूल्यांकन अवश्य हुनेछ ।’
ओलीले एमालेमा नेतृत्व पाएको कारण इतिहास र आन्दोलनप्रतिको भूमिकालाई जनाए। ‘एमालेले मेरो अनुहार हेरेर होइन, आन्दोलनको नेतृत्व गरेका कारण अध्यक्ष बनाएको हो,’ उनले स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले एमालेका नेता भीम रावलमाथि पनि तीव्र आलोचना गरे । उनले रावललाई पदको मोहमा लिप्त र पार्टीको विपक्षमा क्रियाशील रहेको आरोप लगाए। ‘भीम रावलले पार्टीको बारेमा कहिल्यै सकारात्मक कुरा गरेनन् । एकछिन पनि पद बिना बस्न सक्दैनन् । एमाले हुँ पनि भन्ने, बाहिरबाट ढुंगा हान्ने पनि गर्ने। त्यसरी हुँदैन,’ उनले भने ।