प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिन सुनिश्चित गर्न गृहमन्त्री रमेश लेखकलाई मार्गप्रशस्त गर्न सुझाव दिएको छ ।
राष्ट्रिय सभाको सोमबारको बैठकको आकस्मिक समयमा माओवादी केन्द्रका सांसद सुरेश आले मगरले गृहमन्त्री पदमा रहँदासम्म मातहत निकायबाट निष्पक्ष छानबिन सम्भव नहुने दाबी गरे ।
“गृहमन्त्रीले बदमासी गर्नुभएको छैन भन्ने हाम्रो पनि विश्वास हो,” सांसद आले मगरले भने, “तर व्यवहार र तथ्यले त्यसको पुष्टि गर्दैन । गृहमन्त्रीले आफू नैतिकवान् र इमान्दार रहेको प्रमाणित गर्न मार्गप्रशस्त गर्नुपर्छ। छानबिनका लागि तयार हुनुपर्छ।”
उनले विगतमा पनि विभिन्न विवादमा मुछिएका कर्मचारीहरूलाई विमानस्थल अध्यागमनजस्तो महत्त्वपूर्ण जिम्मेवारी किन दिइएको भन्ने प्रश्न उठाए ।