हदबन्दी छुटमा खरिद गरिएको जग्गा अपचलनको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपाल र सञ्चालक शालिग्राम सिंहविरुद्ध अब सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरमा समेत अनुसन्धान सुरु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको सीआईबीले संयुक्त रूपमा अनुसन्धान थालेका हुन् । भारतबाट मुनाफा नकमाउने सर्तमा ल्याइएको २ अर्ब रुपैयाँभन्दा बढी रकम उद्योग नखोली घरजग्गा कारोबार र निजी कम्पनीमा लगानी गरिएको पाइएको छ ।
उक्त रकम ‘रेमिट्यान्स’ देखाएर अपचलन, लेखापरीक्षणको मिलेमतो, सरकारी तथा गुठीको जग्गा हडपेर बिक्री/धितो राख्ने कार्यमा सरकारी अधिकारीहरूको संलग्नता देखिएपछि अख्तियारले थप अनुसन्धान अघि बढाएको हो ।
यसअघि नै अख्तियारले सिंहसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो मागसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।