चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ ३ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो अघिल्लो वर्षको यही अवधिको तुलनामा ७.३ प्रतिशतले बढी हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फ २ खर्ब २५ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो, जुन ४.७ प्रतिशतले वृद्धि भएको अवस्था थियो ।
राष्ट्र बैंकका अनुसार २०८२ वैशाख मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा वार्षिक आधारमा ८.४ प्रतिशतले वृद्धि भएको छ ।
कर्जाको प्रवाह र वितरण
कुल प्रवाहित कर्जामध्ये ६३.१ प्रतिशत गैर–वित्तीय संस्थागत क्षेत्रमा र ३६.९ प्रतिशत व्यक्तिगत तथा घरपरिवार क्षेत्रमा पुगेको छ । गत वर्ष यी अनुपात क्रमशः ६३.७ र ३६.३ प्रतिशत थिए ।
वित्तीय संस्थाहरूअनुसार कर्जा वृद्धिको अवस्था यथार्थमा यस्तो छ:
- वाणिज्य बैंकहरूबाट प्रवाह: ७.६ प्रतिशतले वृद्धि
- विकास बैंकहरूबाट: ४.१ प्रतिशत वृद्धि
- वित्त कम्पनीहरूबाट: ६.५ प्रतिशत वृद्धि
धितोको आधारमा हेर्दा ६५.१ प्रतिशत कर्जामा घरजग्गा धितो राखिएको छ भने १४.६ प्रतिशतमा चालु सम्पत्ति (कृषिजन्य वा गैर–कृषिजन्य) धितो राखिएको देखिन्छ । अघिल्लो वर्ष यिनै अनुपात क्रमशः ६८.५ र १२.१ प्रतिशत थिए।
क्षेत्रगत रूपमा कर्जा वृद्धि
कर्जा प्रवाहको क्षेत्रगत विवरण यस्तो छ:
- औद्योगिक उत्पादन: ९.० प्रतिशत
- निर्माण: १२.३ प्रतिशत
- थोक–खुद्रा व्यापार: ४.९ प्रतिशत
- यातायात, सञ्चार तथा सार्वजनिक सेवा: ११.९ प्रतिशत
- सेवा उद्योग: ७.९ प्रतिशत
- उपभोग्य क्षेत्र: ८.८ प्रतिशत
कर्जाको प्रकारअनुसार पनि उल्लेखनीय परिवर्तन देखिएको छ:
- मार्जिन कर्जा: ३९.३ प्रतिशतले वृद्धि
- ट्रष्ट रिसिट (आयात कर्जा): ५८.१ प्रतिशतले वृद्धि
- आवधिक कर्जा: ५.१ प्रतिशत
- हायर पर्चेज कर्जा: ४.१ प्रतिशत
- नगद प्रवाह कर्जा: ३.४ प्रतिशत
- रियल स्टेट कर्जा: ५.२ प्रतिशत
- अधिविकर्ष कर्जा: १२.९ प्रतिशतले घटेको
आर्थिक गतिविधिको संकेत
राष्ट्र बैंकको प्रतिवेदनअनुसार, कर्जामा भएको वृद्धिले विशेषगरी निर्माण, यातायात र औद्योगिक क्षेत्रहरूमा आर्थिक गतिविधि बढ्दै गएको संकेत गर्दछ ।