जम्मा ४१५ रुपैयाँको सामान खरिद गरेका धनुषाका एक युवकले १० लाख रुपैयाँको उपहार जितेका छन् । धनुषाको नगराइन नगरपालिका–९ घोरघास घर भई हाल ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको उपहार जितेका हुन् ।
पण्डितले गत कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल खरिद गरेका थिए । उक्त सामानको भुक्तानी उनले ई–सेवामार्फत गरेका थिए ।
आन्तरिक राजस्व विभागले सोमबार उपहार विजेताको नाम सार्वजनिक गर्दा पण्डित १० लाख रुपैयाँको पुरस्कारका लागि छनोट भएका हुन् ।
अनलाइनखबरसँग कुरा गर्दै पण्डितले १० लाख रुपैयाँको उपहार जित्दा आफू अत्यन्तै खुसी भएको बताएका छन् । उनले सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानी बसाल्न सबैलाई आग्रहसमेत गरेका छन् ।
सरकारले कर प्रणालीलाई पारदर्शी बनाउने, उपभोक्तालाई सामान खरिद गर्दा बिल लिन प्रोत्साहित गर्ने तथा कर सहभागिता बढाउने उद्देश्यले करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।