मधेस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ मा आठ अर्ब ९९ करोड रुपैयाँ सहुलियतपूर्ण कृषि कर्जा प्रवाह गरेका छन् ।
नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार मधेस प्रदेशका किसान तथा कृषि क्षेत्रमा उक्त परिमाणमा सहुलियतपूर्ण कर्जा लगानी भएको हो ।
प्रदेशका आठ जिल्लामध्ये धनुषामा सबैभन्दा बढी एक अर्ब दुई करोड रुपैयाँ अर्थात् १६.५४ प्रतिशत कर्जा प्रवाह भएको छ । त्यस्तै, सबैभन्दा कम सप्तरीमा ३० करोड रुपैयाँ अर्थात् ४.८७ प्रतिशत कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।
मधेस प्रदेशको अर्थतन्त्रमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान उल्लेखनीय रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यस क्षेत्रको योगदान ३४.९७ प्रतिशत रहने अनुमान गरिएको छ । सबैभन्दा कम योगदान खानी तथा उत्खनन क्षेत्रको ०.१४ प्रतिशत रहने अनुमान छ । यस अवधिमा प्रदेशको प्रतिव्यक्ति जीडीपी ९३४ अमेरिकी डलर रहने अनुमान गरिएको छ ।
कृषि उत्पादनतर्फ मधेस प्रदेशमा फलफूल खेतीले ओगटेको क्षेत्रफल ३३.९९ प्रतिशत र मसला बालीको क्षेत्रफल ४.४६ प्रतिशतले बढेको छ । तर खाद्य तथा अन्य बालीले ओगटेको क्षेत्रफल ४.४७ प्रतिशत र तरकारी तथा बागवानीले ओगटेको क्षेत्रफल १०.१५ प्रतिशतले घटेको छ ।
उत्पादनका हिसाबले तरकारी तथा बागवानीमा ०.५४ प्रतिशत र फलफूलमा ४.९९ प्रतिशत वृद्धि भएको छ । खाद्य तथा अन्य बालीको उत्पादन ५.६९ प्रतिशत तथा मसला बालीको उत्पादन ४.४४ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।
पशुजन्य उत्पादनतर्फ मासु र अण्डा उत्पादन क्रमशः १०.१९ र ३.११ प्रतिशतले बढेको छ भने दूध उत्पादन २.६७ प्रतिशतले घटेको छ । माछा उत्पादनमा भने ५.०५ प्रतिशत वृद्धि भएको छ । वनजन्य उत्पादनतर्फ काठ उत्पादन ६०.५८ प्रतिशत र दाउरा उत्पादन ७८.६२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
कृषि, माछापालन तथा वन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट उल्लेख्य कर्जा प्रवाह भएको छ । २०८३ असार मसान्तसम्म यस क्षेत्रमा ५९ अर्ब ८६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यो मधेस प्रदेशमा प्रवाह भएको कुल कर्जाको १२.१० प्रतिशत हो ।
औद्योगिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा सामान्य वृद्धि देखिएको छ । गत आर्थिक वर्ष औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा ०.६८ प्रतिशतले बढेर एक खर्ब २८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा एक खर्ब २८ अर्ब नौ करोड रुपैयाँ थियो । अध्ययनमा समेटिएका प्रमुख उद्योगको उत्पादन क्षमता उपयोग भारित औसतमा ६४.५९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
घरजग्गा कारोबारतर्फ मधेस प्रदेशमा गत आर्थिक वर्ष एक लाख १६ हजार २०७ वटा घरजग्गा रजिस्ट्रेसन भएका छन् । यसबाट तीन अर्ब २२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
बैंकिङ क्षेत्रको वित्तीय अवस्थातर्फ २०८३ असार मसान्तसम्म मधेस प्रदेशका बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको निक्षेप १७.३२ प्रतिशतले वृद्धि भई चार खर्ब ७८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । सोही अवधिमा कर्जा प्रवाह भने ०.१८ प्रतिशतले घटेर चार खर्ब ९४ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ ।
पूर्वाधार विकासतर्फ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, काठमाडौं–तराई–मधेस द्रुतमार्ग र राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रम प्रदेशसँग सम्बन्धित प्रमुख आयोजना हुन् । तीमध्ये हुलाकी राजमार्ग निर्माणको गति तुलनात्मक रूपमा तीव्र रहेको प्रतिवेदनले जनाएको छ ।
यसैबीच, वैदेशिक रोजगारीका लागि मधेस प्रदेशबाट श्रम स्वीकृति लिनेको सङ्ख्या पनि उल्लेख्य रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका एक लाख ७९ हजार ४१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यो देशभरबाट श्रम स्वीकृति लिने कुल सङ्ख्याको २२.६० प्रतिशत हो ।
राष्ट्र बैंकको अध्ययनले मधेस प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदानसँगै बैंकिङ कर्जा तथा निक्षेप, औद्योगिक गतिविधि, घरजग्गा कारोबार, पूर्वाधार विकास र वैदेशिक रोजगारीको अवस्थासमेत उजागर गरेको छ ।