भिजिट भिसा प्रकरणका कारण लामो समयदेखि अवरुद्ध भइरहेको प्रतिनिधि सभा बैठक सुचारु गर्न प्रतिपक्षी दलहरू सक्रिय भएका छन् ।
प्रमुख प्रतिपक्षी दलहरू आज नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संयुक्त छलफलमा जुटेका छन् ।छलफलमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) र आम जनता पार्टीका शीर्ष नेताहरू सहभागी छन् । बैठकमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र आम जनता पार्टीका अध्यक्ष प्रभु साहको उपस्थिति रहेको छ ।
रास्वपाले संसद सञ्चालनको बाटो खोल्न तयार पारेको पाँच बुँदे प्रस्तावमा आधारित भएर आजको छलफलमा संयुक्त धारणा बनाउने प्रयास भइरहेको माओवादी उपमहासचिव पुनको सचिवालयले जनाएको छ । सो प्रस्ताव नेपाली कांग्रेसलाई समेत बुझाइसकिएको रास्वपाले जानकारी दिएको छ ।
संसद अवरोध हटाउन सत्ता र प्रतिपक्षी दलहरूबीच पछिल्ला दिनमा संवादको पहल तीव्र बनेको छ। आजै दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकअघि सहमति जुटाएर संसद सञ्चालन गर्न सकिने सम्भावनामा दलहरू जुटेका छन् ।
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको विषयमा दलहरूबीच मतभेद रहेपनि साझा सहमतिको बाटो खोज्ने प्रयास आजको छलफलको मुख्य एजेन्डा बनेको छ ।