श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मलेसियासँगको श्रम सहकार्यलाई थप बलियो बनाउँदै दुई देशबीचको सम्बन्धलाई दीर्घकालीन मित्रतामा परिणत गर्ने विश्वास व्यक्त गरेका छन् ।
मंगलबार जेनेभामा मलेसियाका मानव संशाधन मन्त्री स्टीभन सिम ची किओङसँग भएको द्विपक्षीय भेटमा मन्त्री भण्डारीले नेपाली श्रमिकलाई रोजगारीको अवसर दिएकोमा मलेसिया सरकारप्रति आभार प्रकट गरे। उनले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूले दुबै देशको आर्थिक समृद्धिमा पुर्याएको योगदानको उच्च प्रशंसा गरे ।
भेटमा मन्त्री भण्डारीले सन् २०१९ अक्टोबर २९ मा हस्ताक्षर गरिएको ‘भर्ना, रोजगारी र पुनः प्रेषणसम्बन्धी’ सम्झौता सन् २०२३ अक्टोबरमा समाप्त भइसकेको भन्दै त्यसलाई शीघ्र अन्तिम रूप दिन नेपाली पक्ष आशावादी रहेको धारणा राखे ।
भण्डारीले मलेसियामा लागू गरिएको २४ घण्टे सामाजिक सुरक्षा योजनाको प्रशंसा गर्दै यसले श्रमिकको कामबाहेकको समयमा हुने दुर्घटना, मृत्यु र अन्त्येष्टिका खर्चसमेत व्यवस्था गरेको बताए ।
साथै, विदेशी श्रमिकका लागि लागू गरिएको १७ सय मलेसियन रिंगेट न्यूनतम तलब नीतिको स्वागत गर्दै मन्त्री भण्डारीले उक्त नीति कार्यान्वयनमा देखिएको लापरबाहीप्रति पनि ध्यानाकर्षण गराए ।
भेटमा नेपाली श्रमिकले भोगिरहेका विभिन्न समस्याहरूबारे बुँदागत रुपमा उल्लेख गर्दै भण्डारीले गम्भीर संवेदनशीलता साथ समाधान गर्न आग्रह गरे ।