प्रतिनिधिसभामा भिजिट भिसा प्रकरणका कारण उत्पन्न अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रतिनिधिहरूसँग सहमतिका लागि छलफल सुरु गरेका छन् ।
बुधबार सभामुखको कार्यकक्षमा बसेको बैठकमा चार दलका प्रमुख सचेतकसहित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया सहभागी भएका छन् । सभामुख घिमिरेको पहलमा भएको छलफलमा उपसभामुख इन्दिरा राना, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् ।
विपक्षी दलहरूले जेठ १३ यता लगातार संसद् अवरुद्ध गर्दै आएका छन्। सुरुमा उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग राखेका थिए । पछिल्लो समय भने न्यायिक वा संसदीय समिति गठनको मागमा सीमित भएका छन् ।तर सत्तारूढ दलहरू एमाले र कांग्रेस भने यथास्थितिमै अडिग छन् । उनीहरूले न गृहमन्त्रीको राजीनामा आउने न त छानबिन समिति गठन हुने स्पष्ट पारेका छन् ।
छलफल अघि विपक्षी दलहरूको आन्तरिक बैठक पनि बसेको स्रोतले जनाएको छ । विपक्षीले आगामी रणनीति तय गर्न बैठक गरेका थिए । सभामुख घिमिरेले भने सबै दलबीच सहमति र संवादको माध्यमबाट संसद् सञ्चालन गर्ने प्रयास जारी रहेको जनाएका छन्। संसद् बैठक लगातार अवरुद्ध भइरहँदा सांसदहरूले नीति तथा कार्यक्रम, बजेटलगायत महत्त्वपूर्ण छलफलमा भाग लिन नपाएको गुनासो पनि बढ्दो छ ।