हाल देशका पश्चिम र मध्य भू-भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव सक्रिय छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ । साथै, उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको उल्लेख गरिएको छ ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । रातिको समयमै पनि ती पहाडी भागहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ भने ती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।