राजधानीको तीनकुनेमा भएको राजावादी आन्दोलनसँग सम्बन्धित मुद्दामा प्रतिवादीहरूको थुनछेक बहस आज नौौं दिन पनि जारी छ ।
काठमाडौं जिल्ला अदालतमा २० जेठदेखि सुरु भएको बहस अझै टुंगिएको छैन । न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा भइरहेको थुनछेक बहसमा अहिले सरकारी वकिलतर्फबाट जवाफी बहस भइरहेको छ । यद्यपि, ११ जेठमा दायर गरिएको मुद्दाको १८ दिन बितिसक्दा पनि अदालतले आदेश दिन सकेको छैन । तीनकुने घटनामा ३९ जना प्रतिवादी अहिले पनि हिरासतमा छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । त्यसपछि सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
चार जना प्रतिवादी नाबालक भएकाले भक्तपुर पठाइएको छ । तीमध्ये ११ जनालाई आपराधिक उपद्रव सम्बन्धी मात्र मुद्दा लगाइएको थियो । उनीहरू धरौटीमा रिहा भइसकेका छन् ।
तर राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित आठ जनालाई भने कर्तव्य ज्यान मुद्दासमेत लगाइएको छ ।
यसअघि प्रहरी अनुसन्धान प्रतिवेदनमा तीनकुने घटनालाई राज्यसत्ता पल्टाउने योजनाबद्ध प्रयासको रूपमा व्याख्या गरिएको थियो । प्रतिवादीहरू ९ समूहमा विभाजित रही यस्तो कदम चालेको दाबी गरिएको छ ।