काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच लामो समयदेखि रोकिएको कार्यपालिका बैठक सञ्चालन गर्नेसम्बन्धी सहमति भएको छ ।
बुधबार मेयर शाह, उपमेयर डंगोल, वडा नम्बर १५, १७ र ३२ का वडाध्यक्षहरूको सहभागितामा बसेको बैठकले कार्यपालिका बैठक अघि बढाउने सहमति गरेको हो । महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरले कार्यपालिका बैठक छिट्टै बस्ने जानकारी दिए ।
“मेयरसँग कार्यपालिका र नगर सभा सञ्चालन गर्नेमाथि सहमति भएको छ,” प्रवक्ता मानन्धरले भने, “हामीले पहिले नै उठाउँदै आएका एजेन्डामाथि बैठक गरेका हौं । अब छिट्टै कार्यपालिका बैठक बस्नेछ ।”
काठमाडौं महानगरपालिकामा पछिल्लो केही समयदेखि कार्यपालिका बैठक अवरुद्ध हुँदै आएको थियो । उपमेयर डंगोलसहित केही वडाध्यक्षहरूले कार्यसम्पादनमा पारदर्शिता र समन्वयको अभाव भएको भन्दै कार्यपालिका बैठक बहिस्कार गर्दै आएका थिए । तर पछिल्लो सहमतिले महानगरको नीति निर्माण, बजेट र कार्यक्रम अघि बढाउन मार्ग खुल्ने अपेक्षा गरिएको छ ।
महानगरको नीति, योजना र बजेट पारित गर्न कार्यपालिका बैठक अनिवार्य हुने भएकाले यस सहमतिलाई संस्थागत गतिशीलता कायम गर्ने दिशामा महत्वपूर्ण प्रगति मानिएको छ ।