इँटाभट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगंजले सफाइ दिएको निर्णयको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ताहरूले न्यायाधीशमाथि कालोमोसो प्रहार गरेका छन् ।
कालोमोसो प्रहार गर्नेमा धर्मेन्द्र बास्तोला संयोजक रहेको नेकपा (बहुमत) का केन्द्रीय सदस्य प्यूठान घरभई हाल ललितपुर कुपन्डोल बस्ने वर्ष ३८ का किशोर कुँवर (अविनाश), सर्लाही बरहथवा नगरपालिका २ बस्ने ४३ वर्षीय जिल्ला इन्चार्ज पदम बहादुर मगर र सिरहा गोल बजार नगरपालिका वर्ष ४८ का सिरहा जिल्ला समिति सदस्य गर्भु महतो रहेका छन् ।
पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार उच्च अदालत जनकपुरको वीरगंजस्थित अस्थायी इजलासको इजलाश नम्बर २ मा कार्यरत न्यायाधीशद्वय डा. खुसीराम थारु र अर्जुन महर्जनमाथि कालोमोसो प्रहार भएको हो । उहाँहरू नियमित इजलास सञ्चालन गरिरहेकै बेला सो आक्रमण भएको प्रारम्भिक अनुसन्धानले देखाएको मिश्रले जानकारी दिए ।
घटनापछि सुरक्षाकर्मीहरूले इजलास परिसरमा सुरक्षा बढाएका छन् भने कालोमोसो प्रहारमा संलग्न तीनैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पूर्वमन्त्री आलममाथि २०६४ सालमा रौजामा भएको बम विस्फोटपछि घाइतेहरूलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको आरोप लागेको थियो ।
यस घटनामा उच्च अदालतले उनको संलग्नता पुष्टि नहुँदा सफाइ दिएको थियो ।