तीनकुने प्रकरणमा प्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाईँलाई पुर्पक्षका लागि थुनामा राख्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले १० दिनसम्म चलाइएको थुनछेक बहसपछि बिहीबार राति प्रसाईँसहित तारा राजावादी भनिने सरोज गौतम, अनुप राजावादी भनिने गोकर्ण शाही, डण्डपाणी रेग्मी, शुसिल बराल, केशव बस्नेत र कुमार तामाङलाई थुनामा पठाउने आदेश दिएको हो । बाँकी ३२ जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ ।
बिहीबार दिउँसो नै थुनछेक बहस सकिएको भए पनि आदेश आउँदा राति अबेर भएको थियो। अदालतले आदेश नदिउञ्जेल दुर्गा प्रसाईँसहित ३९ जना प्रतिवादीहरूलाई राति अबेरसम्म अदालतभित्रै राखिएको थियो ।
गत चैत १५ गते नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको आह्वानमा तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको थियो। प्रदर्शनका क्रममा केही निजी घर, सरकारी सवारीसाधन तथा जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो ।
उक्त घटनामा संलग्न भएको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले जेठ ११ गते ६१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। प्रतिवादीहरूको जेठ १२ देखि २० गतेसम्म बयान लिइएको थियो, त्यसपछि थुनछेक बहस सुरु गरिएको थियो ।
६१ जनामध्ये ५० जनाविरुद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा दायर गरिएको छ। तिनीहरूमध्ये दुर्गा प्रसाईँसहित ८ जनाविरुद्ध कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगसमेतको आरोपसहित मुद्दा दायर भएको छ। थुनामा रहेका ३९ जनामाथि मात्रै थुनछेक बहस गरिएको थियो ।
यसअघि आपराधिक उपद्रवको मुद्दामा मात्रै संलग्न ११ जना प्रतिवादीहरू धरौटीमा छुटिसकेका छन् ।