परराष्ट्रमन्त्री डा. आरजु राणाले अवैध रुपमा विदेश पुगेका नेपाली नागरिकका विषयमा गृह मन्त्रालय र श्रम मन्त्रालयसँग समन्वय गरेर अध्ययन भइरहेको जानकारी दिएकी छन् ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री राणाले नेपालको श्रम गन्तव्य नरहेका देशहरूमा अवैध रूपमा पुगेका नेपालीहरूको अवस्थाबारे विस्तृत अध्ययन भइरहेको उल्लेख गरिन् । उनका अनुसार विदेशमा रहेका नेपालीको समस्याको समाधानका लागि परराष्ट्र मन्त्रालयको संयोजकत्वमा सम्बन्धित निकायहरू सम्मिलित समिति गठन गरिएको छ । उक्त समितिले आवश्यक सुझाव र उपाय प्रस्तुत गर्ने तयारीमा रहेको उनले जानकारी दिइन् ।
“वैदेशिक रोजगारसँग सम्बन्धित समस्याहरू समाधान गर्नका लागि मन्त्रालयहरूबीच गहन समन्वय भइरहेको छ,” मन्त्री राणाले भनिन्, “कूटनीतिक सेवा सुदृढ बनाउन आवश्यक जनशक्तिको व्यवस्थापन गरिएको छ ।” परराष्ट्र नीतिलाई अझ प्रभावकारी बनाउने र बदलिँदो विश्व परिवेशअनुसार कूटनीतिक मोडालिटी परिमार्जन गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनजस्ता मुद्दामा नेपालले सशक्त भूमिका खेल्न थालेको पनि बताइन् ।
मन्त्री राणाले आफू परराष्ट्रमन्त्री बनेपछि नेपालका मित्र राष्ट्रहरूसँगको सम्बन्ध थप सशक्त बनाएको दाबी गर्दै जलवायु संकटका विषयमा आयोजित ‘सगरमाथा संवाद’ मार्फत नेपालको एजेन्डालाई अन्तर्राष्ट्रिय समुदायमा स्थापित गर्न सफल भएको उल्लेख गरिन् ।