नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय महाधिवेशनबाट वीरगंजका दुई युवा नेतृ–नेता केन्द्रिय नेतृत्वमा निर्वाचित भएका छन् ।
वीरगंज नर्सिङ क्याम्पसकी पूर्व स्ववियु सभापति मनिषा चौधरी अनेरास्ववियुको केन्द्रिय सदस्य (मधेसी खुला) पदमा ४८ मतका साथ निर्वाचित भएकी हुन् । उनी वीरगंजबाट निर्वाचित पहिलो मधेसी महिलामध्ये एक हुन् । त्यसैगरी, वीरगंजकै आसिफ अहमद पनि केन्द्रिय सदस्य (मधेसी खुला) पदमा ५२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। वीरगंज महानगरपालिका–२ का स्थायी बासिन्दा अहमद हाल अनेरास्ववियु वीरगंज महानगर कमिटीका अध्यक्ष पनि हुन् ।
महाधिवेशनबाट रामेछापका डा. सुजन कडरिया अनेरास्ववियुको नयाँ केन्द्रिय अध्यक्षमा निर्वाचित भएका छन् । उनले म्याग्दीका प्रकाश पौडेललाई ७ मतको झिनो अन्तरले पराजित गर्दै अध्यक्ष पदमा विजयी हासिल गरेका हुन् ।
खुला उपाध्यक्षमा रामेछापकै इञ्जिनियर विकास श्रेष्ठ ७०८ मत प्राप्त गर्दै निर्वाचित भए। उनका प्रतिद्वन्द्वी राजकुमार ढकालले ४२९ मत पाएका थिए ।
महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी ७७५ मतका साथ विजयी भइन् । महासचिवमा दीपक धामी ७८५ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी आरके रोमसले ५५४ मत ल्याएका थिए ।
उपमहासचिवमा कमल जोशी निर्वाचित भए। त्यस्तै, सचिव पदमा आकाश घर्ती, इञ्जिनियर रचना सापकोटा, ससीम बाबु खान र अधिवक्ता गोपाल नेपाल विजयी भएका छन् ।
नयाँ नेतृत्वसँगै अनेरास्ववियुले संगठनलाई थप क्रियाशील बनाउने अपेक्षा गरिएको छ ।