नेपालमा मनसुन प्रवेश गरेको १५ दिन बितिसक्दा पनि यो देशभर फैलिन सकेको छैन ।
हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मात्र मनसुनको प्रभाव देखिएको छ । बाँकी प्रदेशहरूमा अझै स्थानीय तथा पश्चिमी वायुले प्रभाव जमाइरहेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जेठ १५ गते राति नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन अहिलेसम्म देशको पश्चिमी भेगमा पूर्ण रूपमा सक्रिय हुन सकेको छैन । मनसुनी वायु अपेक्षाकृत कमजोर रहनुका साथै बंगालको खाडीमा न्यूनचापीय प्रणाली नबन्दा देशभर फैलिन समय लागेको महाशाखाले जनाएको छ ।
यद्यपि पछिल्लो २४ घन्टामा देशका पहाडी तथा तराई भूभागका धेरै स्थानहरूमा वर्षा भएको छ । दाङको बेलझुन्डीमा सबैभन्दा धेरै ९९.६ मिलिमिटर वर्षा मापन गरिएको छ । यस्तै बझाङको थलेरमा ६५.२ मिलिमिटर, सल्यानको सल्यान बजारमा ४६.६ मिलिमिटर र प्यूठानको हंसपुरमा ४०.४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । तर पछिल्ला ६ घन्टायता भने उल्लेखनीय वर्षा नभएको विवरण छ ।
शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने, कोशी र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य केही स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
त्यस्तै, कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । साथै उच्च–पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ ।
शनिबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान तथा अन्य भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ ।
कोशी प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानहरूमा राति भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै उच्च–पहाडी तथा हिमाली भू-भागमा पनि हल्का वर्षा वा हिमपात हुन सक्नेछ ।
महाशाखाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।