विदेश पठाइदिन्छु भन्ने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
साथै, ठगी मुद्दाका एक फरार प्रतिवादी र ठूलो मात्रामा लागुऔषधसहित अर्का एक व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बस्ने, नुवाकोटको विदुर नगरपालिका–४ का ५१ वर्षीय राजकुमार मानन्धर र काठमाडौं महानगरपालिका–१४ बस्ने, रुपन्देही तिलोत्तमा नगरपालिका–२ का ४० वर्षीय ओमबहादुर खत्री छन् ।
राजकुमारले अमेरिका पठाइदिन्छु भन्दै तीन जनाबाट ३५ लाख ६९ हजार रुपैयाँ लिएको आरोप छ भने ओमबहादुरले बेलायत पठाइदिन्छु भन्दै एक जनाबाट ६ लाख ७५ हजार रुपैयाँ ठगी गरेका थिए । पैसा लिएपछि दुवै जना सम्पर्कविहीन बनेका थिए ।
पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले राजकुमारलाई काठमाडौं–१६ बाट र ओमबहादुरलाई काठमाडौं–१२ बाट पक्राउ गरेको हो । अनुसन्धानका लागि राजकुमारलाई जिल्ला प्रहरी परिसर काठमाडौं र ओमबहादुरलाई वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।
यस्तै, ठगीसम्बन्धी मुद्दामा फरार रहेका कञ्चनपुर भीमदत्त नगरपालिका–१४ का २३ वर्षीय खगेन्द्र विष्टलाई पनि प्रहरीले काठमाडौं–१० मध्यबानेश्वर क्षेत्रबाट पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा पठाइएको छ ।
यसैगरी, काठमाडौं–१४ कुलेश्वरस्थित फलफूल मण्डी नजिकैबाट ७३ हजार ९ सय ट्रामाडोल ट्याब्लेटसहित नुवाकोट पञ्चकन्या गाउँपालिका–२ का २६ वर्षीय राजु मिजारलाई प्रहरीले पक्राउ गरेको छ । मिजारलाई लागुऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।