बर्दिबास नगरपालिका–३ स्थित एक होटलबाट वेश्यावृत्तिमा संलग्न रहेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले सोमबार गौरीडाँडास्थित स्नेहा होटलमा छापा मारेर दुई महिला र तीन पुरुषलाई पक्राउ गरेको हो । अवाञ्छित यौनजन्य गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा प्रहरीले निगरानी बढाउँदै आएको थियो । पक्राउ पर्नेमा होटल सञ्चालक बर्दिबासका रामबहादुर तामाङ, भारतको सीतामढी मजफ्फरपुर–१० का २५ वर्षीय राकेश बैठा, मजफ्फरपुर–४ का ३६ वर्षीय जयकरण बैठा रहेका छन् । त्यस्तै, महोत्तरीको रामगोपालपुर–८ की ३० वर्षीया महिला र सिरहा लहानकी ३० वर्षीया महिला पनि पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास बमका अनुसार सो होटलमा विगतदेखि लागुऔषध कारोबार, चोरी योजना र यौनजन्य अपराधका गतिविधिहरू भइरहेकाले विशेष निगरानी राखिएको थियो ।
पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रहरीले बर्दिबास क्षेत्रका अन्य होटलहरूमा पनि निगरानी कडा बनाउने जनाएको छ ।