भिजिट भिसाका नाममा भएको भनिएको मानव तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन र गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार संघीय संसद पुनः अवरुद्ध गरेको छ ।
लगातार संसद अवरुद्ध गर्दै आएको रास्वपाले मंगलबार विशेष रुपमा नीलो रिबनसहित संसदमा उपस्थित भई विरोध प्रदर्शन गरेको हो । रास्वपाका कार्यवाहक प्रवक्ता तथा सांसद मनिष झाले मानव तस्करीविरुद्धको अन्तर्राष्ट्रिय प्रतीकका रूपमा नीलो रिबन प्रयोग हुने उल्लेख गर्दै सम्पूर्ण रास्वपा सांसदहरूले उक्त रिबन लगाएर संसदमा उपस्थित भएको जानकारी दिए । सांसद झाले भने, “मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रुपमा नीलो रिबनले जनाउँछ । आज हामी सांसदहरू सोही संकेतस्वरूप विरोध जनाएका छौं ।”
रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको प्रत्यक्ष संलग्नता रहेको भन्दै उनको तत्काल राजीनामाको माग गर्दै आएको छ । यता, सत्तारुढ गठबन्धनभित्र माओवादी केन्द्र प्रतिपक्षको भूमिकामा देखिए पनि अहिले कांग्रेस र एमालेसँग सहकार्य गर्दै अगाडि बढिरहेको छ ।
केही समयअघि माओवादी केन्द्रले समर्थन फिर्ता लिए पनि रास्वपा र राप्रपा भने गृहमन्त्री लेखकविरुद्धको आन्दोलनमा अझै पनि क्रियाशील छन् । रास्वपाले संसदमा लगातार अवरोध गर्दै भिजिट भिसा प्रकरणलाई मानव तस्करीका रूपमा व्याख्या गर्दै सो विषयमा गम्भीर र निष्पक्ष छानबिनको माग राखेको छ ।
संघीय संसद् सचिवालयका अनुसार, उक्त विषयमा संवादमार्फत समाधान खोज्ने प्रयास भइरहे पनि रास्वपाले गृहमन्त्री हटाइएसम्म संसद सञ्चालन सहज नहुने चेतावनी दिँदै आएको छ ।