प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयभित्र भएका तोडफोड र हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् ।
आज सिंहदरबारमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूसँग भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो कोही भए पनि उन्मुक्ति नपाउनु पर्ने स्पष्ट धारणा राख्दै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको जानकारी गराइएको छ । छलफलमा त्रिविका निमित्त उपकुलपति प्रा. डा. खड्ग केसीले विश्वविद्यालय परिसरमा सुरक्षा चुनौती बढिरहेको र त्यसका कारण पदाधिकारीहरूले कीर्तिपुर बाहिरबाट सेवा प्रवाह गरिरहेको जानकारी गराए । उनले विश्वविद्यालयमा शान्तिपूर्ण शैक्षिक वातावरण कायम राख्न सुरक्षाको प्रत्याभूति दिन आग्रह गर्दै लिखित पत्रमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
उपकुलपति केसीले तोडफोडमा संलग्नहरूविरुद्ध प्रहरीमा उजुरी दिइए पनि केही दोषीहरू रिहा भएकोप्रति चिन्ता व्यक्त गर्दै कारबाहीको माग गरेका थिए । उनले भने, "प्रहरीमा उजुरी दिएको भए पनि दोषीहरूलाई नछोड्न सरकार जिम्मेवार हुनुपर्छ ।"
गत फागुन २१ गते कीर्तिपुरस्थित त्रिविका शिक्षाध्यक्ष कार्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनको कार्यालय, र प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा तोडफोड गरिएको थियो । त्यस्तै, जेठ १४ गते कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा पनि तोडफोडको घटना भएको थियो ।
प्रधानमन्त्री ओलीको पहलपछि त्रिविका पदाधिकारीहरूले सुरक्षा प्रत्याभूति र शैक्षिक शान्ति पुनःस्थापनाको अपेक्षा व्यक्त गरेका छन् ।