प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधवार सम्पन्न भएको छ ।
बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र र आगामी प्राथमिकताका कार्यसूचीबारे प्रारम्भिक परिचयात्मक छलफल गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
सरकारले गत वैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकमार्फत प्रधानमन्त्रीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय सुशासन आयोग गठन गरेको थियो। आयोगमा राजनीतिक दलका प्रतिनिधि, सुशासन तथा प्रशासनिक सुधारमा कार्यरत विज्ञ, र निजी क्षेत्रका प्रतिनिधिहरू समावेश गरिनेछ ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसिया, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री राजकुमार गुप्तालगायत सहभागी थिए ।
प्रधानमन्त्री कार्यालयका अनुसार आयोगका बाँकी सदस्यहरूको मनोनयन चाँडै सम्पन्न गरिनेछ र आगामी साता आयोगको दोस्रो पूर्ण बैठक बस्ने तयारी छ। आयोगले सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा सुधार, र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिक एजेन्डा बनाउने अपेक्षा गरिएको छ ।