पर्सा जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य तीव्र रुपमा अगाडि बढिरहेको छ । हाल जिल्ला प्रशासन कार्यालय वीरगंज, इलाका प्रशासन कार्यालय सुपौली र पोखरिया नगरपालिकाबाट विवरण संकलन सेवा उपलब्ध गराइँदैछ ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार, गत वैशाख १४ गते प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको निर्णयपछि वीरगंज महानगरसहित चार स्थानबाट सेवा प्रवाह सुरु गरिएको थियो । तर, सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले असोज १ गतेदेखि वीरगंज महानगरपालिका कार्यालयबाट सञ्चालित सेवा जिल्ला प्रशासन कार्यालयमा नै स्थानान्तरण गरिएको हो ।
हाल वीरगंजस्थित प्रशासन कार्यालयमा चारवटा कम्प्युटर प्रणालीमार्फत बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म विवरण संकलन भइरहेको छ। यस कार्यमा पप्पु साह, जागृत साह, विकेश केशरी र निभा साह खटिएका छन् ।
त्यसैगरी, इलाका प्रशासन कार्यालय सुपौलीमा सुनुकुमार दामी र पोखरिया नगरपालिकामा रञ्जित मण्डल तथा अर्जुन गुप्ता बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विवरण संकलन कार्यमा खटिएका छन् ।
सेवाको क्षेत्रगत पहुँच पनि निर्धारण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय वीरगंजबाट वीरगंज महानगरपालिका, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका, विन्दवासिनी गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिकाका नागरिकले सेवा लिइरहेका छन् ।
इलाका प्रशासन कार्यालय सुपौलीबाट जिराभवानी, जगरनाथपुर, ठोरी र पटेर्वा सुगौली गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिइँदैछ ।
पोखरिया नगरपालिकाबाट पोखरिया नगरपालिका, पकाहा मैनपुर, कालिकामाई, छिपहरमाई र धोबीनी गाउँपालिकाका नागरिकले विवरण दर्ता गराइरहेका छन् ।
कर्मचारीहरूको सक्रियता, जिम्मेवारीप्रतिको निष्ठा र कार्यालयको समन्वयका कारण सेवा प्रभावकारी भएको छ। हालसम्म हजारौँ सेवाग्राहीले आफ्नो विवरण सफलतापूर्वक दर्ता गराइसकेका छन् ।