संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहीबार बिहान ११ बजे संसद भवन, नयाँबानेश्वरमा बस्दैछ।
बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक तथा विनियोजन विधेयक, २०८२ सम्बन्धी महत्वपूर्ण विषयहरूमा छलफल हुने कार्यसूची रहेको छ । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ सम्बन्धी समितिको प्रतिवेदन संसदमा पेस गर्ने छन् ।
यसका साथै विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि प्रारम्भिक छलफल हुने कार्यसूची रहेको छ । छलफल हुने मन्त्रालयहरूमा वन तथा वातावरण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय समावेश छन् ।
साथै, यी मन्त्रालयहरूका विभिन्न शीर्षकहरूमाथि प्राप्त खर्च कटौतीका प्रस्तावहरू पनि आजको बैठकमा प्रस्तुत हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।